📍 चन्द्रकोट–८, तुराङ मजुवा, गुल्मी    079421018    info@gmb.edu.np
श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय
श्री ज्ञानोदय नमुना माध्यमिक विद्यालय
भर्ना लगइन Switch to English

आभिभावकमा आनुरोध

Published on September 24, 2026

आभिभावकमा आनुरोध

आदरणीय अभिभावकज्यूहरू, सादर नमस्कार ! विगत केही समयदेखि शनिबार–आइतबारका विदा, चाडपर्व, दिवस र लामो बिदा लगायत विभिन्न कारणले विद्यालयको नियमित पठनपाठनमा अवरोध भइरहेको अवस्था यहाँहरूलाई अवगत नै छ। यसरी निरन्तर रूपमा विद्यालयका कक्षा तथा सिकाइ गतिविधि प्रभावित हुँदा हाम्रा नानीबाबुहरूको पढाइमा समेत केही असर पर्न सक्ने भएकाले यस समयमा घरमा अभिभावकीय निगरानी र सहयोग अझ बढी आवश्यक देखिएको छ। त्यसैले विद्यालयको तर्फबाट यहाँहरूमा हार्दिक अनुरोध छ—कृपया आफ्ना नानीबाबुहरूको पढाइका गतिविधिमा केही समय विशेष ध्यान दिनुहोस्। उनीहरूले नियमित रूपमा गृहकार्य गरिरहेका छन् कि छैनन्, पाठ्यक्रमअनुसार पढाइ अगाडि बढिरहेको छ कि छैन, गृहकार्य जाँच भइरहेको छ कि छैन, पढेका विषयवस्तुबारे उनीहरूको बुझाइ कस्तो छ, होमवर्क डायरी नियमित निरीक्षण भइरहेको छ कि छैन भन्ने कुरामा समय–समयमा जानकारी लिइदिनुहोस्। विद्यालयमा नियमित रूपमा उत्तरपुस्तिका परीक्षण तथा गृहकार्य जाँच भइरहेको भए पनि घरबाट पनि त्यसको निरन्तर अनुगमन र प्रोत्साहन हुँदा बालबालिकामा पढाइप्रति जिम्मेवारी र आत्मविश्वास अझ बढ्नेछ। पहिलो त्रैमासिक परीक्षा सम्पन्न भइसकेको सन्दर्भमा आफ्ना नानीबाबुहरूको नतिजा र सिकाइको अवस्थाबारे पनि अभिभावकज्यूहरूले गम्भीरतापूर्वक छलफल गरिदिनुहुन अनुरोध छ। नतिजा राम्रो भए अझ राम्रो गर्न प्रोत्साहित गर्ने र अपेक्षित उपलब्धि हासिल नभएको भए कमजोरी पहिचान गरी सुधारका लागि आवश्यक सहयोग र हौसला प्रदान गर्ने वातावरण घरमा बनाइदिनुहोस्। साथै, यो समय नानीबाबुहरूसँग केही बढी समय बिताउने, उनीहरूसँग आत्मीय रूपमा कुराकानी गर्ने र उनीहरूको रुचि, समस्या तथा पढाइप्रतिको धारणा बुझ्ने अवसर पनि हो। घरायसी काममा समेत उनीहरूको उमेर र क्षमताअनुसार सहभागी गराउँदै श्रमको सम्मान, जिम्मेवारीबोध र आत्मनिर्भर बन्ने संस्कार विकास गर्न प्रेरित गरौँ। घरको काममा सहयोग गर्दै गर्दा पनि उनीहरूको अध्ययनका लागि आवश्यक समय छुट्याउन विशेष ध्यान दिनुहोला। विद्यालय र अभिभावकबीचको निरन्तर सहकार्य नै बालबालिकाको सफल सिकाइको आधार हो। त्यसैले प्रतिकूल परिस्थितिका कारण विद्यालयको पढाइमा केही अवरोध भए पनि घरमा सिकाइको निरन्तरता कायम राख्न यहाँहरूको सक्रिय सहभागिता, निगरानी र प्रोत्साहनका लागि विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ। नानीबाबुहरूको उज्ज्वल भविष्यका लागि विद्यालय र अभिभावक हातेमालो गर्दै अघि बढौँ। धन्यवाद ! प्रधानाध्यापक तथा विद्यालय परिवार श्री ज्ञानोदय माध्यमिक विद्यालय चन्द्रकोट- ८, गुल्मी

Upcoming Events

02 Jun

education day

2083
07 May

leave

2083
28 May

leave

2083
21 May

leave

2083
14 May

leave

2083
12 May

Rakshya Bandan

2083
↑